काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशन आज अपराह्न काठमाडौंको ऐतिहासिक खुलामञ्चमा औपचारिक रूपमा सुरु हुँदैछ। यही असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।
महाधिवेशनको निर्धारित तालिका अनुसार असोज १८ गते उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

देशभर निरन्तर परेको अविरल वर्षाका कारण यसअघि असोज १६ गतेका लागि तय गरिएको महाधिवेशन दुई दिन पछाडि सारेर आजदेखि प्रारम्भ गर्न लागिएको हो।
महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम निरन्तर जारी छ। महाधिवेशनको व्यवस्थापन र तयारीका लागि गठन गरिएका विभिन्न १५ वटा समितिले आ-आफ्नो जिम्मेवारी पूरा गरेका छन्।
उद्घाटनस्थल खुलामञ्चमा भव्य मञ्च निर्माण गरिएको छ। खुलामञ्चमै बन्दसत्र सञ्चालनका लागि फरक-फरक ठूला हलहरू बनाइएको जानकारी पार्टी प्रवक्ता देवराज चालिसेले दिए। महाधिवेशनस्थलमै मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्रको समेत स्थापना गरिएको छ।
आवास व्यवस्थापन समितिले प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक-एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध मिलाएको छ।
प्रतिनिधिहरूको आवासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलङ्की र नयाँ बसपार्क क्षेत्रमा होटल तथा आवासको व्यवस्था गरिएको छ। सहभागीहरूले आवाससम्बन्धी सम्पूर्ण जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत प्राप्त गर्नेछन्। बिहान, दिउँसो र साँझको भोजनको व्यवस्था भने भृकुटीमण्डपमा गरिएको आवास व्यवस्थापन समितिले जनाएको छ।
यसैगरी, केन्द्रीय निर्वाचन समितिका अनुसार यस महाधिवेशनमा करिब सात हजार ७०० महाधिवेशन प्रतिनिधिहरू सहभागी हुँदैछन्। नेपाली कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएर आएका हुन्।
उद्घाटन र बन्दसत्र एउटै स्थानमा
कांग्रेसको १५औं महाधिवेशनको उद्घाटनसँगै बन्दसत्रका कार्यक्रम पनि काठमाडौँको खुलामञ्चमै सञ्चालन हुनेछन्।
ठूलो सङ्ख्यामा उपस्थित हुने प्रतिनिधिहरूको सहज व्यवस्थापनका लागि सोही अनुसारका भौतिक संरचनाहरू निर्माण गरिएका छन्। बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले आ-आफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ।
खुलामञ्चमा हुने बन्दसत्रका लागि तीनवटा ठूला संरचना (हल) तयार पारिएको छ। ठूलो सङ्ख्यामा रहेका प्रतिनिधिलाई व्यवस्थित रूपमा सहभागी गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। छलफल सञ्चालन गरिने ती हलहरूको नाम भौगोलिक पहिचान अनुसार ‘हिमाल’, ‘पहाड’ र ‘तराई-मधेस’ राखिएको छ।
पेस गरिएका प्रतिवेदनहरूमाथि भूगोलका आधारमा समूह विभाजन गरी तीन फरक हलमा गहन छलफल हुनेछ। प्रत्येक हलमा जडान गरिएका डिजिटल बोर्डमार्फत सहभागीहरूले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था मिलाइएको प्रवक्ता चालिसेले बताए।
उद्घाटन सत्रमा मुलुकका विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई निमन्त्रणा गरिएको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल सहभागी हुने भएका छन्।
अन्तर्राष्ट्रिय अतिथिका रूपमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवालगायतका विदेशी पाहुनाहरू महाधिवेशनमा सहभागी हुन काठमाडौँ आइपुगिसकेका छन्।
ऐतिहासिक स्थलमा १५औं महाधिवेशन
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलोपटक सार्वजनिक सम्बोधन गरेको ऐतिहासिक स्थलमा पार्टीको १५औँ महाधिवेशन हुन लागेको हो।
त्यसैगरी, सोही टुँडिखेल प्राङ्गणमा कांग्रेसका अर्का संस्थापक नेता सर्वोच्च कमान्डर गणेशमान सिंहले निरङ्कुश पञ्चायती सत्ताको अन्त्यका लागि भएको २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलताको घोषणा गरेका थिए।
महाधिवेशनको औपचारिक उद्घाटन सभापति गगनकुमार थापाले गर्नेछन् भने उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरूसँगै देशका प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्नेछन्।
पार्टी प्रवक्ता चालिसेले भने, “यो महाधिवेशन यसकारण पनि ऐतिहासिक छ, किनभने यस प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवाहरू नेतृत्व र जिम्मेवारीमा आएका छन् र उनीहरूसहितले छानेका सात हजारभन्दा बढी प्रतिनिधिहरू यस महाधिवेशनमा सहभागी हुँदैछन्।” गत पुस २८ देखि माघ ३ गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि यो नियमित महाधिवेशन आयोजना गरिएको हो।
तामझाम नगरी सामान्य र तडकभडकविहीन प्रचार शैली
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी प्राकृतिक विपद्का कारण मुलुक शोकमा रहेको अवस्थालाई मध्यनजर गर्दै कांग्रेसले यस महाधिवेशनमा प्रचारप्रसारमा कुनै तामझाम नगर्ने निर्णय गरेको छ। कार्यक्रमस्थलमा राखिएको एउटा मूल ढोकाबाहेक सहर-बजारका अन्य कुनै पनि स्थानमा प्रचार सामग्रीहरू टाँगिएका छैनन्।
यसबाहेक काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहर तथा बजारमा रहेका करिब १०० वटा ‘डिजिटल बोर्ड’ मार्फत मात्र महाधिवेशनसम्बन्धी सूचना र सन्देशहरू प्रवाह गरिएको छ।
महाधिवेशनअन्तर्गत हुने निर्वाचनका उम्मेदवारहरूलाई पनि प्रचारप्रसारका लागि डिजिटल माध्यम मात्र प्रयोग गर्न पार्टीले आग्रह गरेको छ। साथै, महाधिवेशनलाई पूर्ण रूपमा वातावरणमैत्री बनाउने नीति पार्टीले लिएको छ।
निर्वाचन समितिले तडकभडक र भड्किलो प्रचारप्रसारमा पूर्ण रोक लगाएको छ। विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले भने, “भौतिक तथा प्रिन्ट गरिएका प्रचार सामग्रीमा पूर्ण प्रतिबन्ध लगाइएको छ। महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड सामग्री राख्न, टाँस्न वा वितरण गर्न कडा मनाही गरिएको छ।”
निर्वाचन समितिका अनुसार असोज १९ गते सोमबार अपराह्न २:०० बजेदेखि साँझ ६:०० बजेसम्म काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता हुनेछ। तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले आफ्नो मनोनयनपत्र दर्ता गर्न सक्नेछन्।
विधानको नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति कुल २३२ सदस्यीय बन्नेछ। जसमा १७१ जना प्रत्यक्ष तथा समावेशी रूपमा निर्वाचित हुनेछन् भने ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ। यसपटक कांग्रेसमा सहमहामन्त्रीको सङ्ख्या आठबाट बढाएर ११ पुर्याइएको छ। समावेशी समूहबाट निर्वाचित हुने तथा सभापतिबाट मनोनीत हुने स्पष्ट व्यवस्था विधानमा गरिएको छ।






