नीलो कञ्चन, स्निग्ध ताल, जसलाई सल्लाघारीले घेरेर सुरक्षित राखेको छ । तालमा पौडिरहेका हुन्छन्– चंखेली र कान्जिरोवा हिमाल साथमा हुन्छन् सल्लाहरू पनि । दिनमै तीन/चार पटक तालले रङ बदल्छ । त्यति मात्र होइन, तालको छालसँगैको सुन्दरताले पर्यटकको मन लोभ्याउँछ ।
तत्कालीन राजा महेन्द्र शाहले भनेझैँ अप्सरा नै हुन्– रारा ताल । घुमन्तेका लागि सपनाको गन्तव्य पनि हो– रारा ताल । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटरमा रहेको तालमा विश्वमा अन्यत्र नपाइने ‘स्नो ट्राउट’ माछा पाइन्छ ।

तालको वास्तविक दृश्यचाहिँ ४ हजार मिटरमाथिको मुर्माटप लेकबाट आनन्द आउँछ । नेपालको सबैभन्दा ठूलो रारा तालमा वर्षमा करिब ६० हजार नेपाली पुगेको तथ्यांक छ । विदेशी पर्यटकको संख्या भने उल्लेख्य देखिएको छैन ।
राराका आकर्षण
रारा नेपालको भर्जिन पदमार्गसहितको गन्तव्य हो । साहसिक यात्राको गन्तव्य पनि हो । रारा ताल बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ । तालको वरिपरि मनोरम सल्लाघारी छ । साँझ तालको वरिवरि पैदल यात्रा गर्न सकिन्छ ।
प्रकृतिसँग विचरण गर्न मिल्छ । चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लित बनाउँछ । तालमा बोटिङ गर्न मिल्छ । तालको छेउमा टेन्टमा रात बिताएर आनन्द लिन सकिन्छ ।
राराबाट फर्किंदा मनोरम दृश्यबाहेक कर्णालीका स्थानीय उत्पादन, घरेलु उत्पादन टोपी, कपडा, स्याउका परिकारहरू कोसेलीको रूपमा ल्याउन सक्नुहुन्छ । कर्णालीको मौलिक उत्पादनहरू नेपालभर प्रसिद्ध छन् ।
कसरी पुग्ने ?
रारा सडक र हवाई दुवै माध्यमबाट जान सकिन्छ । हवाई यात्राका लागि नेपालगञ्जबाट मुगुको ताल्चा विमानस्थलसम्म हवाई सुविधा छ । ताल्चा विमानस्थलबाट करिब ३ घण्टा पैदल यात्रापछि रारा ताल पुग्न सकिन्छ । हवाई यात्रा नियमित उडान नहुन सक्छ । मौसमका कारण उडान समय फेरबदल भइरहन्छ ।
सुर्खेतको वीरेन्द्रनगरदेखि दुई दिनको बस यात्राबाट मुगुको गमगढी पुगिन्छ र गमगढीबाट करिब ३ घण्टा पैदल यात्रामा रारा ताल पुगिन्छ । निजी फोर ह्वीलवाला गाडीबाट पनि जान सकिन्छ ।






