प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जाँदा विमानस्थलमा रेड कार्पेट, गार्ड अफ अनर र औपचारिक विदाइ कार्यक्रम आयोजना नहुने भएको छ।
प्रधानमन्त्री शाह आज साँझ न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक विदेश भ्रमणमा जाँदैछन्।

विदेशमा भ्रमणमा जाँदा शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना हुने परम्परा तोड्न लागेका हुन्।
भोटेकोसी बाढीका कारण देश शोकमा रहेकाले विदेश भ्रमणमा जाँदा कुनै तामझाम आयोजना नगर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्रीको शाहले भ्रमण दल पनि सानो बनाएका छन्। उनीसँग मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, दुईजना सुरक्षाकर्मी र एकजना शिष्टाचार अधिकृत न्युयोर्कसहित ७ जनाको प्रतिनिधि मण्डल मात्रै न्यूयोर्क जाने भएको छ।
प्रधामन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको ‘जनरल डिबेट’ लाई सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग उनको भेटवार्ता हुनेछ।
प्रधानमन्त्री असोज १० गते काठमाडौँ फर्कने छन्। उनी विदेश भ्रमणबाट नेपाल फर्कदा पनि विमानस्थलमा रातो कार्पेट, गार्ड अफ अनर र स्वागतका लागि विशिष्ट अधिकारीहरुको लामो ताँती नहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।






